
पुष २, दैलेख
दैलेख विगतदेखिनै बिभिन्न क्षेत्रमा हेपिएको जिल्लाका रुपमा परिचित जिल्ला हो । ऐतिहासिक, धार्मिक र साँस्कृतिक हिसावले निकै महत्वपूर्ण मानिएको दैलेखले राष्ट्रिय राजनीतिमा पहुँच बृद्धि नभएकै कारण आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा पछाडी परेको छ । यस्तो महसुस सर्वसाधारण नागरिकहरुले मात्र हैनन्, स्वयं दैलेखमा रहेका पार्टीहरुले पनि गरिरहेका छन् ।
पछिल्ला दिनहरुमा राज्यको नीति निर्माण गर्ने तहमा राष्ट्रसेवक कर्मचारीहरुको पहुँच बृद्धिलाई निकै आशालाग्दो हिसावले हेरिएको छ ।
दैलेख जन्मघर भएका र दैलेखकै सरकारी विद्यालयमा अध्ययन गरेका ७ जना व्यक्तिहरुले देशभरका बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिरहेका छन् । मन्त्रालयमा समेत उपसचिव, सहसचिवको पदमा धेरै व्यक्तिहरुको उपस्थिती देखिएको छ । स्वास्थ्यको क्षेत्रमा पनि दैलेखले राम्रो प्रगती गरेको छ । करिव १५ भन्दा बढी डाक्टरहरु जिल्लाले उत्पादन गरिसकेको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम सँगै नेकपा एमाले र राप्रपामा दैलेखको उपस्थिती शसक्त देखिएको छ । दैलेखले राजनीतिमा केन्द्रीय पहुँच बिस्तार गर्न सकेन भनेर सबै पार्टीहरुमा चर्चा परिचर्चा चलिरहेका बेलामा नेकपा एमालेका प्रभावसाली नेता लक्ष्मी पोखरेल पोलिटव्यूरो सदस्यमा चयन भएका छन् ।
एमालेको कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारीमा अनुभवि, त्यागी नेता बिनोद कुमार शाह छानीएका छन् । केन्द्रीय सदस्य एवं नेकपा एमालेका प्रचार बिभाग उपप्रमुख एवं प्रेस चौतारीका सहइन्चार्जमा युवा नेता बिष्णु रिजाल, केन्द्रीय सदस्य एवं नेकपा एमाले कानुन आयोगको उपप्रमुखमा युवा नेता धर्मराज रेग्मी एमालेका केन्द्रीय सदस्यहरु राजबहादुर बुढा, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठको उपस्थितीले दैलेखको समग्र विकासमा केन्द्रीय नेतृत्वसँग बहस गर्न सजिलो हुने आशा दैलेखका बासिन्दाहरुले गरेका छन् ।
त्यस्तै दैलेखकी चेली कुन्ति कुमारी शाही राप्रपाको महामन्त्रीमा निर्वाचित भएपछि राप्रपामा पनि दैलेखको उपस्थिती प्रभावकारी हुने आशा दैलेखका बासिन्दाहरुले गरेका छन् ।
मतगणना हुँदै गरेको काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा गणेशबहादुर खड्का, वासना थापा, सिता कुमारी राना लगायतका नेताहरुले उम्मेदवारी दिएका छन् ।
मतगणना जारी रहेको छ । काँग्रेसमा पनि दैलेखका नेताहरुले विजय प्राप्त गरेको खण्डमा देशका ठूला देखि साना सबै पार्टीमा दैलेखको उपस्थिती प्रभावकारी बन्ने आशा गरिएको छ ।










